‘लन्डन टु पेरिस’ प्रिमियरमा कसले के भने ?

22

काठमाडौँ, २५ जेठ । आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लन्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौँमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् ।

निर्देशक शोभित बस्नेतले ठुलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लन्डन टु पेरिस’ले दिएको बताउनुभयो । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उहाँले भन्नुभयो, ‘मलाई फिल्म राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन् । तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।’

फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि फिल्म राम्रो बनेको बताउनुभयो । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उहाँले भन्नुभयो ।

निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई फिल्ममा आफूले भनेको बताउनुभयो । उहाँले फिल्म विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताउनुभयो । यो फिल्मबाट अभिनेताका रुपमा डेब्यु गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पूरा भएको बताउनुभयो । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उहाँले भन्नुभयो ।

फिल्मका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकारभन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताउनुभयो । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उहाँले भन्नुभयो ।

फिल्मकी ‘डेब्यु’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठुलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गर्नुभयो । ‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो ।

घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...