काठमाडौँ, २४ जेठ । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औँ वार्षिकोत्सव मनाउने तयारी थालेको छ । वार्षिकोत्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उपसमिति गठन गरिएको छ ।
आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिसकेको छ ।
आयोगले ६४औँ वार्षिक प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष बुझाइसकेको छ । प्रतिवेदनअनुसार, संघमा ५३ हजार ७६, सात प्रदेशमा जम्मा १७ हजार २३ र ७५३ स्थानीय तहमा ६५ हजार ६०४ स्वीकृत दरबन्दी रहेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अवधिमा आयोगबाट ५०३ बढुवा सूचना, १४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, २९९ खुला प्रतियोगितात्मक परीक्षा र ६६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित भएको थियो ।
सो अवधिमा उक्त विज्ञापनबाट बढुवातर्फ ९९०, आन्तरिकतर्फ २८१, खुलातर्फ एक हजार ८० तथा महिला, आदिवासी, जनजाती, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियागितातर्फ एक हजार ६०० पदका लागि दरखास्त माग गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० को अवधिमा प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ८३ हजार २०३ दरखास्त प्राप्त भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष जस्तै आर्थिक वर्ष २०७९÷८० मा पनि नेपालका सबै जिल्लाबाट दरखास्त परेको छ । सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लाहरू क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन् ।
उक्त पाँच उक्त पाँच जिल्लाबाट कुल ८१ हजार ४०३ (१७ प्रतिशत) दरखास्त परेका छन् । त्यस्तै, सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा रहेका छन् । यी जिल्लाबाट कुल ३ हजार ७३ अर्थात् कुल दरखास्तको ०.६३ प्रतिशतमात्र दरखास्त परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका अध्यक्ष र चारजना सदस्य नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । आयोगले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।