चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ : मन्त्री सुडी

13

काठमाडौँ, २३ जेठ । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

उहाँले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले भन्नुभयो, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो । यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरुको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरुको संरक्षणका लागि अत्यावश्यक छ ।’

उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताउनुभयो ।

यस्तै, उहाँले जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिदै गइरहेको, नदीहरु सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्‍याइरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताउनुभयो ।

पारिस्थितिकीय प्रणालीको पुनःस्थापना गर्नु वातावरण संरक्षणको मुख्य अंग भएको बताउँदै उहाँले विनाश भएका वन क्षेत्रको पुनःस्थापना, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानविय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनासको चपेटमा परेको छ । प्राकृतिक रुपमा पनि क्षयीकरण भैरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खनन्ले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सरकारले वन संरक्षण, जलवायु अनुकूलन योजना, विपद् व्यवस्थापन नीति र हरित विकासका नीतिहरुमार्फत दिगो विकासका मार्ग अवलम्वन गरेका छौँ । यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो प्रयासलाई सफल बनाउन सबै तहका मानिसहरुको सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गर्दछु ।’

Share This:
सम्बन्धित खबर
Loading...