यसवर्ष १६ लाख पर्यटक नेपाल आउनेछन् : पर्यटनमन्त्री तामाङ

15

काठमाडौँ, २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहिअनुसार काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो । सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौँमा आउने हिन्दु धर्माबलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उहाँको भनाइ छ ।

‘यहाँ कतिपय तस्बिरहरु आफैँले भोगेका राखिएका छन् । कतिपय पुराना इतिहास झल्काउने खालका तस्बिर देखेँ । यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ । गोरखापत्रको यो काम प्रशंसनीय छ । पुर्खाका पालाका तस्बिर देख्न पाउँदा खुसी लाग्यो ।’

Share This:
सम्बन्धित खबर
Loading...