पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : मन्त्री तामाङ

28

काठमाडौँ, १८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकका गैरराजनीतिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुने समस्या रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री तामाङले पशुपति जस्तो विशुद्ध धार्मिक स्थलमा समेत राजनीति हुनु दुभाग्यपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको समस्या के रहेछ भने । जुन ठाउँ अलि गैरराजनीतिक ठाउँ हुन्छ नि त्यहाँ नै धेरै राजनीति हुँदो रहेछ । विद्यालयलाई गैरराजनीतिक क्षेत्र भनिन्छ । त्यहिँ गएर बढी राजनीति हुँदोरहेछ । धार्मिक स्थलहरुलाई पनि गैरराजनीतिक स्थल भन्छौँ । सबैभन्दा बढी त्यहाँ राजनीति हुने । एकले अर्कालाई कसरी नङ्ग्याउन सकिन्छ । कसरी फसाउन सकिन्छ भन्ने कोणबाट काम गर्ने ठाउँ रहेछ । राजनीति गर्न चाहानेले बाहिर बसेर गरौँ । पशुपति भनेको विशुद्ध धार्मिकस्थल हो । त्यहाँ पनि राजनीति हुँदोरहेछ । त्यसैले म त्यो हुन दिने पक्षमा छैन ।’

उहाँले राज्यले पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोणको अधारमा देशका ऐतिहासिक स्थलहरुको संरक्षण गरेर पर्यटकहरुमा आकर्षण बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ऐतिहासिक पुरातात्तिक महत्त्वका सम्पदाहरु भएका स्थलहरुको संरक्षण गर्दै पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोण के छ त्यसको आधारमा संरक्षण गर्दै त्यो वरिपरि पर्यटकहरु ल्याउनका लागि र आकर्षण बढाउनका लागि राज्यले पहल गर्नुपर्छ । त्यसलाई नयाँ बनाएर होइन कि त्यहिँ पुरानोलाई जस्ताको त्यस्तै संरक्षण गरेर गर्नुपर्ने काम धेरै हुँदोरहेछ जसको लागि बजेट धेरै चाहिदो रहेछ । बजेट हामीसँग अभाव छ ।’

Share This:
सम्बन्धित खबर
Loading...