काठमाडौँ, १७ जेठ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राख्नुभएको छ ।
आज काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको टिप्पणी गर्नुभएको हो।
उहाँले भन्नुभयो, ‘अत्यन्त विषम परिस्थितिमा र अन्तर्राष्ट्रिय रुपमा पनि अप्ठेरो भैरहेको परिस्थितिमा यो बजेट आएको छ । बजेटबाट धेरैले विभिन्न क्षेत्रबाट आशा राखेका थिए । विशेषगरी वर्षमान पुन अर्थनमन्त्री भैसकेपछि ठुलो आशा थियो । यो बीचमा जुन किसिमले बजेट आयो त्यसलाई अहिलेको समय अनुसार हामीले सन्तुलित भएर आएको बजेटको रुपमा लिएका छौँ ।’
इस्टार्टअपसँग जोडेर पर्यटन, हाइड्रोपावर, ऊर्जा, आईटी इन्डस्ट्री, कृषिलगायत पाँच क्षेत्रमा प्लान रुपमा बजेट आएको उल्लेख गर्दै केसीले त्यसले नेपालको बैंकिङ क्षेत्रलाई आगामी वर्ष धेरै अवसरहरु प्रदान गर्ने बताउनुभयो । उहाँले रियल अर्थतन्त्रमा प्रभाव पर्ने क्षेत्र यिनै पाँच भएको उल्लेख गर्नुभयो । सरकारले त्यसैमा बजेट केन्द्रित गरेकोले बैंकिङ क्षेत्रले आगामी वर्ष काम गर्ने धेरै अवसर पाउनेमा केसीले जोड दिनुभयो ।