काठमाडौँ, १५ जेठ । सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ ।
संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताउनुभएको हो । उहाँले सीपमूलक र प्राविधिक शिक्षा विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गर्नुभयो ।
मन्त्री पुनले उच्च शिक्षालाई अनुसन्धानमूलक, प्रवर्द्धनमुखि र व्यवसायीक बनाइने बताउनुभयो । त्यस्तै, सरकारले विद्यालय परिचय पत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आवद्ध गरी स्थानान्तरण र छात्रवृत्ति वितरणलाई व्यवस्थित गरिने बताउनुभयो ।
त्यसैगरी बालबिकास शिक्षाको गु्णस्तर वृद्धि गर्न बालविकासका एक हजार पाँच सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराइने अर्थमन्त्रीले उद्घोष गर्नुभयो ।
सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने व्यवस्था मिलाइने पुनले बताउनुभयो ।
कर्णालीका जुम्ला, हुम्ला र कालिकोटका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको पुनले बताउनुभयो । दिवा खाजाका लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको छ ।