नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

15

काठमाडौँ, १५ जेठ । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ ।

मंगलबार आर्थिक वर्ष ०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताउनुभयो ।

२०६२ सालमा निरपेक्ष गरिबी ३०.८ प्रतिशत रहेकामा हाल घटेर २०.३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भन्नुभयो, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०.६०२ कायम भएको छ । नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको छ ।’

यस्तै, नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको छ । ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ ।

यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ । ‘२०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ । पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’ अर्थमन्त्री पुनले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...