बेलायती प्रधानमन्त्रीलाई सगरमाथा आधार शिविर जान मनिषाको निम्तो

5

काठमाडौँ, १० जेठ । बेलायत भ्रमणमा रहनुभएकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निमन्त्रणा दिएको बताउनुभएको छ ।

नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एक सय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा उपस्थित हुनुभएकी मनिषाले सगरमाथा आधार शिविर जानेगरी नेपाल आउन निम्ता दिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।

प्रधानमन्त्री सुनक र मनिषाबीच क्याजुअल रुपमा गफगाफ गरिरहेको तस्बिर पोष्ट गर्नुभएकी उहाँले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको उल्लेख गर्नुभएको छ ।

मनिषा स्वयंले इन्स्टाग्रामबाट सुनकसँगको भेटका तस्बिर र भेटमा भएको गफगाफ बारेका कुरा पोस्ट गर्नुभएको छ । प्रधानमन्त्री सुनकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ छ । ‘हीरामण्डी’ सिरिजको कार्यक्रममा लन्डन पुग्नुभएकी उहाँले आयोजित समारोहमा थुप्रै नेपालीहरुसँग भेट्नुभएको थियो ।

समारोहमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो । समारोहमा सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरुको योगदानको प्रशंसा गरेका थिए ।

बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...