‘रेड पाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र होइन’

4

काठमाडौँ, १० जेठ । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेड पाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र भएको भनेर बुझ्नु गलत भएको संरक्षणमा लागेका अभियन्ताहरुले बताएका छन् । उनीहरुले रेडपाण्डा इकोसिस्टमसँग जोडिएकाले यसको संरक्षणमा जुट्नुपर्ने उनीहरुको भनाइ छ ।

रेडपाण्डा संरक्षण दूतसमेत रहनुभएका अभिनेता दयाहाङ राईले रेडपाण्डा एक पटक हेर्ने रहर सबैलाई हुने भएपनि यसलाई रमिताको माध्यम बनाएर संरक्षणमा ध्यान नदिए जोखिम हुने बताउनुभयो ।

रुबीभ्यालीमा पहिलो पटक रेड पाण्डालाई नजिकबाट देखेको बताउनुभएका राईले प्रकृति बाँच्न र इकोसिस्टम चल्नका लागि संरक्षण पनि सँगसँगै गर्नुपर्ने बताउनुभयो । ‘स्थानीय तह र सरोकारवालाहरुको सोच रेडपाण्डा देखाएर पर्यटन विकास गर्नुपर्छ भन्ने मैले पाएको छु । तर यसलाई रमिता हेर्ने साधनका रुपमा मात्र बुझ्दा गम्भीर भूल हुन्छ । संरक्षणमा पनि जुट्न मेरो अनुरोध छ ।’

रेड पाण्डा नेटकर्वका संरक्षण कार्यक्रम अधिकृत सोनाम टाँसी लामाले रेडपाण्डाले पर्यटकलाई अवश्य लोभ्याउँने भएपनि संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रेडपाण्डा हेर्न जानका लागि आफूहरुले गाइडलाइन र आचार संहिता नै निर्माण गरेको बताउनुभयो ।

नेपालका करिब २४ जिल्लाका उच्च पहाडी क्षेत्रमा पाइने रेड पाण्डा संरक्षणका लागि आफूहरुले सन् २००७ देखि १३ जिल्लामा समूदायस्तरमा काम गरिरहेको लामाले जानकारी दिनुभयो । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेड पाण्डा थप लोप हुन नदिन स्थानीयस्तरमा सचेतनाका कार्यक्रमहरु जारी राखेको उहाँले बताउनुभयो ।

‘आफूहरुले काम गरेका क्षेत्रमा विद्यालयस्तरमा, समुदायस्तरमा र सरकारसँग समन्वय गरेर संरक्षण गर्नुपर्छ भन्ने सचेतना गरिरहेका छौँ । वासस्थान जोगाउन बृक्षारोपण, चोरी निकासी नियन्त्रणमा जागरण अभियान चलाएका छौँ,’ उहाँले भन्नुभयो ।

रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिएर हिँड्डुल गर्न नजाने र वासस्थान क्षेत्रमा होहल्ला गर्न नहुने संरक्षणकर्ताहरुको भनाइ छ । समुन्द्र सतहबाट झण्डै ३ हजार ६ सय मिटर उचाइमा रेडपाण्डा बढी पाइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...