‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?

15

काठमाडौँ, १० जेठ । बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारदेखि रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरिएको छ । राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।

अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महसुस भएको बताउनुभयो । ‘फिल्म प्राविधिक रुपमा अत्यन्तै राम्रो छ । निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम धेरै राम्रो छ । फिल्मले युवा भाइबहिनीलाई झन राम्रो लाग्नेछ । उहाँहरुलाई मनपर्‍यो भने आफ्नो बुबाआमालाई पनि बोलाएर ल्याइहाल्नुहुन्छ’, उहाँले भन्नुभयो ।

अभिनेता तथा निर्माता हरिहर अधिकारीले फिल्मले आफ्नो मन छोएको बताउनुभयो । ‘फिल्म पूर्ण व्यावसायिक र साइन्स फिक्सन भएकाले पनि केही नयाँ छ,’ उहाँले भन्नुभयो ।

निर्मात्री तथा अभिनेत्री निता ढुंगानाले फिल्म नयाँ अवधारणामा बनेकाले दर्शकले हेर्न आवश्यक रहेको बताउनुभयो । ‘निर्माताले पनि धेरै ठुलो रिस्क लिएर यो फिल्म बनाउनुभएको छ । सामान्यतया व्यावसायिक फिल्महरु चलिरहेका हुन्छन्, हिट भइरहेका हुन्छन् । तर यो किसिमको फिल्मलाई बनाउन धेरै गाह्रो हुन्छ । त्यसकारण नेपाली निर्मातालाई दर्शकले साथ दिनुपर्छ’, उहाँले भन्नुभयो ।

अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका फिल्म दर्शकले हेर्न नपाइरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताउनुभयो । ‘फिल्ममा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो । प्रेमकथा मनपराउने दर्शकका लागि त्यो एउटा स्वादिलो फिल्म बन्नेछ’, उहाँले भन्नुभयो, ‘फिल्ममा देखाइएको समयको कुराले जोकोहीलाई छुन्छ । दर्शकका लागि फिल्मले एउटा मिठो सन्देश पनि दिएको छ ।’

अभिनेत्री सुरक्षा पन्तले फिल्म आफूलाई मनपरेको बताउनुभयो । ‘बुलिङबाट स्टोरी बिल्ड अप भएको रहेछ । क्लाइमेक्सको टाइमिङ मनपर्‍यो । कलाकारको अभिनयमा कुनै खोट लगाउन छैन’, उहाँले भन्नुभयो ।

निर्देशक वसन्त निरौलाले युवापुस्ताका लागि समय सापेक्षको फिल्म बनेको बताउनुभयो । ‘फिल्मको मेकिङ, कलाकारको अभिनय, पाश्र्व संगीत, कथा, लोकेसन हरेक हिसाबले फिल्म उत्कृष्ट बनेको छ’, उहाँले भन्नुभयो ।

निर्माता सुनिलकुमार थापाले ठुलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताउनुभयो । ‘निर्माताले दिल खोलेर फिल्म बनाउनुभएको छ । निर्देशकले पनि राम्रो काम गर्नुभएको छ । छायांकन राम्रो छ । अनमोलको अभिनय ‘वाह’ नै छ । अन्य कलाकारको काम पनि अब्बल छ’, उहाँले भन्नुभयो ।

निर्देशक झरना थापाले अनमोलको अभिनय निखारिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘अनमोलको अभिनयमा धेरै सुधार भएको महसुस गरेँ । सबै पक्षले फिल्म अब्बल छ’, उहाँले भन्नुभयो ।

फिल्ममा विशेष भूमिकामा देखिएका अभिनेता सलोन बस्नेतले फिल्मले दर्शकलाई फ्रेसनेस दिने बताउनुभयो । ‘नेपाली फिल्मको इतिहासमा सायदै पहिलोपटक टाइम लुपको कथामा फिल्म बनिरहेको छ । दर्शकले इन्जोय गर्नुहुनेछ’, उहाँले भन्नुभयो ।

अभिनेता सलिनमान बनियाँले फिल्म आफ्ना लागि ‘अमेजिङ’ रहेको बताउनुभयो । ‘फिल्ममा टाइम लुपको कन्सेप्ट छ । सुरुदेखि अन्त्यसम्म राम्रो लाग्यो । मैले अनमोलको होस्टेलदेखि फर्की फर्कीसम्म आउँदै सबै फिल्म हलमा नै हेरेको छु । फर्की फर्कीसम्म आइपुग्दा उसको अभिनय उत्कृष्ट छ’, उहाँले भन्नुभयो ।

फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताउनुभयो । ‘सबैजनाले राम्रो भन्नुभयो । मेयर बालेन दाइ (बालेन साह)ले पूरै फिल्म हेरेर जानुभयो । त्यो हाम्रो ठुलो उपलब्धि हो’, उहाँले भन्नुभयो ।

अभिनेत्री जसिता गुरुङले आफूले ‘भयंकर’ प्रतिक्रिया पाएको बताउनुभयो । ‘फिल्ममा भएको टाइम लुपको कन्सेप्टमा जुन रेस्पोन्स आएको छ, त्यो एकदमै राम्रो छ’, उहाँले भन्नुभयो ।

फिल्म हेर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...