किरात समुदायले उभौली पर्व मनाउँदै

9

काठमाडौँ, १० जेठ । आज किरात समुदायले उभौली पर्व मनाउँदै छन् । किरात धर्मावलम्बी राई, लिम्बूलगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

किरात समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जंगली जनावर पनि उभो लाग्ने किरात समुदायको विश्वास छ । पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ भने किरात समुदायका भिन्न भिन्न सम्प्रदायका मानिसले साकेला नाच नाच्दछन् ।

किरात समुदायमा पनि एकथरीले उभौली पर्व माघ १ गते नै मनाउने गर्छन् । उधौली भने साउन १ गते मनाउँछन् । पर्वको अवसर पारेर आज ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा किरात समुदायका मानिस जम्मा भइ विधिपूर्वक पूजा आराधना गर्ने गर्दछन् ।

Share This:
सम्बन्धित खबर
Loading...