काठमडौँ, ९ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गर्नुभएको छ ।
मन्त्री अर्यालले बुधबार काठमाडौँको टुँडिखेलमा महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ भन्ने नारासहित गत वैशाख १९ गतेदेखि सुरु भएको एक महिने सीप मेला अवलोकनका गर्नुभएको हो ।
अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले, देशभरिका ७५३ वटै स्थानीय निकायमा नै सुहाउने किसिमको सिप सिकाउन सकियो भने देशमा स्वरोजगार सिर्जना गर्न सकिने बताउनुभयो । सीप मेलाको माध्यमबाट विदेश जाने लहरलाई रोक्ने काठमाडौँ महानगरपालिकाको उदाहरणीय प्रयास रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘सीप मेला कामपाको उदाहरणीय प्रयास हो । देशभरिका ७५३ स्थानिय निकायमा जे सुहाउँछ त्यो किसिमको सीप सिकाउन सकियो भने देशमा स्वरोजगार सिर्जना गर्न अनि विदेश जाने लहरलाई रोक्ने प्रयास हो यो । म महानगरलाई एकदमै धन्यवाद दिन चाहन्छु ।’
उहाँले मेलामा सिप सिकेकालाई जगमा पुर्याउनका लागि जेष्ठ १७ गतेदेखि २९ गतेसम्म मन्त्रालयले आयोजना गर्न लागेको रोजगार मेलामा सहभागि हुन आग्रह गर्नुभयो ।
१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ भने जसमा २९ प्रकारका पेशागत तालिमको व्यवस्था गरिएको छ ।