रोमाञ्चक खेलमा चेन्नाईलाई हराउँदै बेंगलुरू प्लेअफमा

5

काठमाडौँ, ६ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलुरु प्लेअफमा पुग्न सफल भएको छ । शनिबार राति चेन्नाई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंगलुरूले प्लेअफमा स्थान बनाएको हो । सुरुवाती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंगलुरूले पछिल्ला ६ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौथो टोली बनेको हो ।

पहिले ब्याटिङ गरेको बेंगलुरूले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सक्यो । चेन्नाई पनि १४ अंकका साथ प्लेअफको दौडमा रहेकाले पराजित भएपनि निर्धारित ओभरमा २०१ रन बनाउनु पर्ने थियो ।

उता बेंगलुरूलाई १८ भन्दा माथिको रनमा जित निकाल्दा प्लेअफ पुग्ने समीकरण भएकाले खेल एकदमै रोमाञ्चक बन्यो । अन्ततः बेंगलुरूले बाजी मार्दै डिफेन्डिङ च्याम्पियन चेन्नाईलाई आइपिएलको समूह चरणमै रोक्न सफल भयो ।

शनिबार रातिको खेलमा बेंगलुरूले टस हारेर पहिला ब्याटिङ गरे पनि सुरुवात उत्कृष्ट गरेको थियो । ओपनरद्वय विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए ।

कोहली २९ बलमा ४७ रन बनाएर आउट भएका थिए । उनले चार छक्का र तीन चौका प्रहार गरे । प्लेसिस र रजत पटिदार मिलेर पारि अघि बढाएका थिए । टिमको स्कोर ११३ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै रनआउट भए । उनले ३९ बलमा ५४ रनको पारि खेदा समान तीन चौका र छक्का हिर्काए ।

पटिदारलाई साथ दिन क्यामरन ग्रीन आए । यी दुई खेलाडीटले १७.४ ओभरमा टिमको स्कोर १८४ रन बनाएका थिए । पटिदार २३ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४१ रनको पारि खेल्दै पभेलियन फिर्ता भए ।

दिनेश कार्तिकले ६ बलमा १४ रन बनाएर आउट हुँदा समान एक छक्का र चौका प्रहार गरे । ग्लेन म्याक्सवेले ५ बलमा १६ रन बनाउँदा क्यामरुन ग्रीनले १७ बलमा ३८ रनको नटआउट पारि खेल्दा बेंगलुरूको स्कोर निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । चेन्नाईका सार्दुल ठाकुरले २ विकेट लिँदा तुषार देशपान्डे र मिचेल साटनरले एक एक विकेट लिए ।

२१९ रनको लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईको सुरुवात खराब रह्यो । कप्तान ऋतुराज गायकवाड गोल्डेन डकआउट भए । पहिलो बलमै कप्तानलाई गुमाएको चेन्नाईले दोस्रो विकेटको रुपमा डेरियल मिचेललाई गुमाए । उनी ४ रन बनाएर पभेलियन फर्किए । रचिन र विन्द्र र अजिंक्या रहाणेनले पारि सम्हालेका थिए ।

९.१ ओभरमा ८५ रन भएका बेला अजिंक्या रहाणे २२ बलमा ३३ रन बनाएर आउट भए । उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए । चौथो विकेटको रुपमा रचिन रविन्द्र आउट भएका थिए । उनले ३७ बलमा ६१ रनको पारि खेलेका थिए । तीन छक्का र पाँच चौका प्रहार गरेका उनी रनआउटको शिकार भएपछि चेन्नाइलाई दबाब बढेको थियो ।

शिभम् दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए । मिचेल साटनरले ३ रनमात्रै जोडे । रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन् । धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए । उनी आउट हुँदा चेन्नाईले १९।२ ओभरमा १९० रन बनाएको थियो । रविन्द्र जडेजाले २२ बलमा ४२ रनको नटआउट पारि खेल्दा समान तीन छक्का र तीन चौका प्रहार गरे । रन रेटमा अघि रहँदै प्लेअफ खेल्नका लागि अन्तिम चार बलमा १० रन बनाउन नसक्दा प्रतियोगिताबाट बाहिर चेन्नाई पुग्यो ।

बेंगलुरूका यस दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहमद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...