काठमाडौँ, ४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ ।
नेपाल बार एसोसियसनले आयोजना गरेको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यम भएको भन्दै विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन कायम हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।’
उहाँले न्याय भनेर मात्र होइन महसुस हुन आवश्यक भएको भन्दै न्यायको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ, संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसिएसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ ।’
उहाँले न्यायको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिका हुने हुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल र अन्तरक्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथि पनि हुन सक्ने उहाँको भनाइ थियो ।