घट्यो पेट्रोलियम पदार्थको मूल्य

16

काठमाडौँ, ३ जेठ । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागु हुनेछ ।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर १७७ बाट १७० भएको छ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ ।

यस्तै, डिजल र मट्टितेल काठमाडौँ, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ । सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ ।

इन्डियन आयल कर्पोरेसनले १५÷१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...