मिडियाले सरकार र जनताबीचको पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

20

काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबीचको पुलको काम गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२औँ वार्षिकोत्सव समारोहमा उहाँले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पुर्‍यायाउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पुर्‍याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौँ । जातीय छुवाछुत, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौँ । तर, त्यो कुरा आजका दिनसम्म पनि व्यवहारिक रुपमा कायम भइरहेको छैन । यसको कारणहरु पत्ता लगाएर बाहिर ल्याउने पनि सरकारी मिडियामार्फत् जनसमक्ष लान सकियो भने यसले हाम्रो सचेतनाको पक्षमा पनि राम्रो भूमिका खेल्न सक्छ ।’

उहाँले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ । यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ । गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आम मानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रवृत्तिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ । नेपालका अखबरे पत्रकारिता आरम्भ गरेको यस गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु हामी सबैको चुनौतीको विषय पनि हो । बजारमा प्रतिस्पर्धी हुनु हाम्रो कर्तव्य छ । सँगसँगै अगुवा पत्रिकाको रुपमा स्थापित गर्न र आन्तरिक व्यवस्थापन सबल बनाउन पनि जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्रको भविष्य उज्वल छ ।’

Share This:
सम्बन्धित खबर
Loading...