‘बोक्सीको घर’ सुपरहिट हुँदा सपनाजस्तै लागिरहेको छ : केकी अधिकारी

39

काठमाडौँ, २० वैशाख । अभिनेत्री केकी अधिकारीको ‘डेब्यु’ निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बक्सअफिसमा फ्लप साबित भयो । २०७५ वैशाख १४ मा रिलिज यो फिल्मलाई बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपी गरेको आरोप पनि लाग्यो ।

विशाल भण्डारीको डेब्यु निर्देशन रहेको फिल्ममा केकी सहायक निर्मात्री हुनुहुन्थ्यो । पहिलो फिल्म असफल भएका ६ वर्षपछि केकीले निर्माण गर्नुभएको दोस्रो फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा विशेषत महिला दर्शकको उल्लेख्य उपस्थिति छ ।

‘बोक्सीको घर’मा केकीकै प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा सीमित पत्रकारमाझ गरेको अन्तरक्रियामा अभिनेत्री केकीले ‘कोहलपुुर एक्सप्रेस’ले धेरै कुरा सिकाएको खुलाउनुभयो ।

‘फिल्मको कथावस्तु बलियो भएमा फिल्म सफल हुन्छ भन्ने कुरा बोक्सीको घरबाट थाहा पाएँ । कोहलपुर एक्सप्रेसबाट पाठ सिकेँ । त्यो फिल्ममा पनि बलियो कथा भइदिएको भए सफल हुन्थ्यो’, उहाँले भन्नुभयो ।

उहाँले ‘बोक्सीको घर’ सुपरहिट हुनु आफ्ना लागि सपनाजस्तै रहेको खुलाउनुभयो । ‘फिल्म अझै पनि हिट भएको हो कि होइन भन्ने लागिरहेको छ’, उहाँले भन्नुभयो, ‘फिल्म हिट हुँदा ऊर्जा महसुस हुँदोरहेछ ।’ उहाँले चाँडै नै ‘बोक्सीको घर’को सिक्वेल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

केकीको कुरामा सहमति जनाउँदै निर्देशक सुलक्षण भारतीले दोस्रो भागका लागि स्क्रिप्ट लेखनको काम पूरा भइसकेको बताउनुभयो। उहाँले बीचमा एक फिल्मको काम गरेर ‘बोक्सीको घर २’ बनाउने जानकारी दिनुभयो ।

‘मैले बोक्सीको घरको पहिलो भाग सकेर दोस्रो भागको कथा लेखिरहँदा केकीजीलाई दोस्रो भागको कथा तयार भयो भनेर जानकारी दिएको थिएँ । तर, केकीजीले पहिलो भागलाई हेरेपछि मात्र दोस्रो भागको तयारी गर्ने भन्नुभयो’, सुलक्षणले भन्नुभयो ।

फिल्मका वितरक डिसिएनका अशोक शर्माले फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार फिल्मले काठमाडौँ उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रस गरेको छ ।

‘फिल्मले यस्तो आक्रामक व्यापार गर्छ भन्ने हामीले कल्पना गरेकै थिएनौँ । सामान्यतया काठमाडौँ उपत्यका र उपत्यका बाहिरको कलेक्सन ६० र ४० प्रतिशतको हुन्छ । तर, बोक्सीको घरको कलेक्सन बराबर छ । कुनै दिन त उपत्यकाभन्दा बाहिरको बढी कलेक्सन छ’, शर्माले भन्नुभयो,‘अधिकांश स्थानमा महिला दर्शकको भीड छ । महिला दर्शकको संख्या हलमा बढ्नु भनेको त्यो फिल्मले अझै लामो यात्रा गर्छ भन्नु हो । किनभने ‘बोक्सीको घर’ अहिलेसम्म डगमगाएको छैन ।’

फिल्ममा केकी अधिकारी, रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटालगायतको अभिनय छ ।

Share This:
सम्बन्धित खबर
Loading...