साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

19

काठमाडौँ, १७ वैशाख । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमलप्रसाद अधिकारी साइबर ब्युरोको फन्दामा परे । वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पुर्‍याउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्युरोबाट छिपेन । शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेल समेत साइबर ब्यूरोको निगरानीमा परे, र समातिए ।

यी त केही उदाहरणहरु मात्रै हुन् । अहिले बन्द कोठाभित्र लुकेर इन्टरनेटको अनाधिकृत प्रयोग गर्ने र अपराध गर्नेहरू ठान्छन्, कि घरमा बसेर गरेको अपराध त प्रहरीलाई थाहै हुँदैन । तर, नेपाल प्रहरीको साइबर ब्युरोले त्यस्ता अपराधीहरुलाई समेत निगरानीमा पार्ने र अनुसन्धानको दायरामा ल्याउने गरेको छ । लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरैजसो अभियुक्तलाई साइबर ब्युरोले कानुनको दायरामा ल्याइसकेको छ । तर, पछिल्लो समय लुकीछिपी अपराध गर्नेहरु प्रहरीको फन्दामा मात्रै परेका छैनन्, यस्तो अपराधको ग्राफ पनि रातारात दोब्बरले बढिरहेको छ ।

ब्युरोको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै १५ हजार ६ वटा उजुरी परेका छन् । तीमध्ये मुद्दा चलेका ७३ जनालाई ब्युरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाइबुझाई सहमतिमा ल्याउने गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्युरो सक्रिय रहेको दाबी गर्नुहुन्छ ।

उहाँका अनुसार यी ९ महिनामा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका उजुरी सबैभन्दा धेरै छन् । यो अवधिमा फेसबुक र म्यासेन्जरमार्फत् दुरुपयोगका १२ हजार २९६ वटा उजुरी परेका साइबर ब्युरोले जनाएको छ ।

भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूबका ५१ वटा, ह्याट्सएपका ७२४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६८६ वटा, वेभसाइट ह्याकिङका १० वटा, टिकटकका ६७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तीय संस्थातर्फ १६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा ९ हजार १३ वटा र आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९/८० मा १ सय २७ र आर्थिक वर्ष २०७८/७९ मा १३२ वटा मुद्दा दर्ता भएका थिए ।

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताउनुभयो ।

सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भइ हुने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्युरो स्थापना गरेको थियो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थाले साइबर अपराधसम्बन्धी निवेदन दर्ताको चाप बढ्दोक्रममा रहेको बताउनुभयोए ।

‘विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्लिल फोटो तथा भिडिओ सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन्,’ उहाँले भन्नुभयो, ‘अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने घटना पनि देखा परेका छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...