टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए : मिस पवी

29

काठमाडौँ, १५ वैशाख । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात् पवित्रा साकीको दैनिकी थियो–बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने ।’

कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन् । फेसबुक, टिकटक खुबै चहार्थिन् । अरुको भिडिओ र फोटो देखेर आफू पनि त्यस्तै बन्ने परिकल्पना गर्थिन् । विस्तारै उनले त्यही सिक्दै गइन् । टिकटक एकाउन्ट खोलिन र भिडिओ अपलोड गर्न थालिन् ।

प्रयोगकर्ता सबैले चर्चित कलाकार र सेलिब्रेटीहरुले लिप्सिङ र गीतमा आधारित भएर टिकटकमा भिडिओ बनाउनुहुन्थ्यो । तर, गाउँले जीवन बिताइरहनुभएकी पवी गाउँले परिवेश र मौलिकतामा रमाइरहेकी थिइन् । त्यसै क्रममा उनले सुदूरपश्चिमको पहाडी जिल्लामा बोलिने ‘ठेट’ डोटेली भाषामा आफैँ बोलेर टिकटक बनाउन थाल्नुभयो ।

मौलिक डोटेली भाषा र बोल्ने शैली टिकटकमा यति धेरै चर्चित भयो कि उहाँको गाउँले जीवन विस्तारै फरकतिर मोडियो । टिकटकको भिडिओले कला क्षेत्रका सेलिब्रेटीहरुको मन तान्यो । जसका कारण छोटो समयमै उहाँ कला क्षेत्रमा प्रवेश गर्ने अवसर पाउनुभयो । उहाँले डोटेली भाषालाई नेपालभर फैलाउनुभयो नै सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौँमाझ परिचित गराउनुभयो । ‘टिकटक स्टार’का रुपमा चिनिएपछि मिस पवीलाई काठमाडौँबाट म्युजिक भिडिओ, टेलिफिल्म र फिचर फिल्ममा अफर आउन थालेको सुनाउनुहुन्छ ।

‘अहिलेसम्म ४० भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेकी छु । केही विज्ञापनमा पनि काम गरिरहेकी छु र ठूलो फिल्मको नि अफर आएको छ,’ उहाँले भन्नुभयो ।

सपना थियो ‘सेफ’ बन्ने तर मोडियो बाटो
टिकटकमा छाउने मिस पवी अहिले टेलिभिजनको पर्दामा देखिन थाल्नुभएको छ । उहाँले अभिनय गरेका भिडिओहरु ठुलो पर्दा गुञ्जिन्छन् । ‘ठ्याक्कै कति म्युजिक भिडिओमा काम गरेँ भनेर काउन्ट गरेको छैन । तर ४० भन्दा बढी त पुग्यो होला,’ उहाँले भन्नुभयो । चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ लगायतका चर्चित धारावाहिक नाटकहरुमा काम गरिसकेको उहाँले सुनाउनुभयो ।

उहाँको सपना थियो होटल म्यानेजमेन्ट पढेर ‘सेफ’ बन्ने । तर, अहिले त्यो सपना मानसपटलबाट हराएको उहाँको अनुभव छ । मनोरञ्जनका लागि गाउँबेँसी गर्दा टिकटक बनाइरहने उहाँले एक दिन आफ्नी आमासँग भनिन्, ‘ए मम्मी मेरा त हिट्टा हिट्टा खुट्टा थगिगया भन्या ब..’ उहाँले आमालाई जिस्क्याउँदै बनाएको टिकटकलाई लाखौँले मन पराइदिए । जसको उत्प्रेरणाले अरु गाउँले परिवेश र लवजमा भिडिओहरु बनाएर अपलोड गर्न थाल्नुभयो ।

विस्तारै उहाँ टिकटक स्टारको रुपमा परिचित हुन थाल्नुभयो । उहाँलाई काठमाडौँबाट म्युजिक भिडिओका अफर आउन थाले । तर, उहाँलाई गाउँलेहरुसँग लड्नपर्ने चुनौती थपियो । ‘नेपालमा पनि यस्तो भाषा बोलिन्छ ?,’ ‘कुन ठाउँको भाषा हो नि यो ?’ भनेर कमेन्ट आउथे । उहाँले बनाउने भिडिओमा उहाँ सबैलाई रिप्लाई दिनुहुन्थ्यो सुदूरपश्चिमको डोटेली भाषा हो भनेर । सुरुमा टिकटक बनाइरहँदा गाउँका मान्छेहरुले अपाच्य आलोचना गर्ने गरेका थिए । उहाँले भनिन् ‘सुरु सुरुमा त खुब नराम्रो भन्ने गर्थे । फलानीको छोरी खत्तम भइ, बिग्रिएर सकिए भन्थे । अहिले छोरी होस् त पवी जस्तो होस् भन्छन् । यसो भन्दा गर्व लाग्छ ।’

कुनै बेला आफूलाई टिकटकर भन्दा चित्त दुख्ने भएपनि अहिले आफूलाई गर्व गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले मान्छेहरुले टिकटके भन्थे । अनि चित्त दुख्थ्यो । म मात्र टिकटकबाट कला क्षेत्रमा प्रवेश गरेको होइन् नि । अहिले जसरी यो क्षेत्रमा आए एकदमै गर्व लाग्छ ।’

‘सिने क्षेत्रमा थरी थरीका मान्छेहरु भेटिने रहेछन्’
मिस पवीलाई मोबाइलको क्यामरामा टिकटक बनाउनु र ठुला क्यामराको अगाडि अभिनय गर्नुमा खासै फरक लाग्दैन । कला क्षेत्रमा छोटो समयमै चर्चा कमाउनुभएकी र धेरै डिमाण्ड भएकी उहाँ निर्देशकको ह्यारेसमेन्टबाट बच्नुपर्ने चुनौती देख्नुहुन्छ । हालै एक पोडकास्टमा भनेको कुरा सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘यो सामाजिक दुनियाँमा अनेक थरीका मान्छेहरु हुनेहरु रहेछन् । अनुभव गर्दै, सिक्दै र सचेत भएर अघि बढिरहेको छु ।’

मिस पवीसँग विभिन्नखाले अनुभवहरु छन् । एक जनाले आफूलाई सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्न खोजेको अनुभव पनि छ । ‘मैले यो कुरा हालै एक पोडकास्टमा भनेको थिएँ, त्यो एकदम भाइरल भयो । धेरैले नराम्रो तरिकाले पनि बुझिदिनुभयो । त्यो मान्छेलाई म राम्रोसँग चिन्दैन थिएँ, उसले चाहिँ चिन्दो रहेछ । केहीसम्म ह्यारेसमेन्ट भएको अनुभव गरेँ,’ उहाँ भन्नुहुन्छ, ‘तर, म त्यस्ता मानिससँग नजिक हुन नपाउँ जस्तो लाग्छ । यस कुरामा म सचेत छु ।’

मौलिक भाषा र गाउँठाउँ चिनाउने यात्रा रोकिँदैन
मिस पवी टिकटकबाटै राम्रो ख्याति कमाउन सफल भए पनि आम्दानी गर्न नसकेको बताउनुहुन्छ । आफ्नो क्षेत्रको भूगोल र भाषाको प्रचारप्रसारका लागि मात्र आफू टिकटक बनाउने गरेको सुनाउनुहुन्छ । म्युजिक भिडिओमा आएको अफर अर्को सफलता भएको उहाँको बुझाइ छ । जहाँ भए पनि आफ्नो भाषा र भूगोलको प्रचार गर्न नहिच्किचाउने मिस पवीको सोच छ । तर, टिकटक बन्द भएपछि सामाजिक सञ्जालमा भिडिओ कम मात्रामा राख्ने गरिएको उहाँ सुनाउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘खासगरी एउटा विकट क्षेत्रका छोरीचेलीको जीवन यसरी व्यथित हुन्छ भन्ने सन्देश दिन खोज्थेँ । हाम्रो डोटेली भाषाको प्रचारप्रसार गर्न पाए आज सबैले हाम्रो भाषा सजिलै ठम्याउँछन् । खुसी लाग्छ । तर म जहाँ पुगे पनि यो काम गर्न छाडदिन । भाषा र मौलिकता हराउन दिनेछैन ।’

युवापुस्ताले संस्कृति र आफ्नो भाषा बिर्सिरहेका बेला आफूले केही हदसम्म त्यसको संरक्षणमा टेवा पुर्‍याएको भाषाका जानकारहरुबाट प्रतिक्रिया आउँदा खुसी लाग्ने गरेको उहाँले सुनाउनुभयो । सरकारले टिकटक बन्द गरिसकेको अवस्थामा आफ्नै युट्युब च्यानल अनि ब्लगमार्फत् डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्धन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

अनि पानीको धारा काटियो
डडेलधुराको भागेश्वर क्षेत्र कांग्रेसको गढ मानिन्छ । मिस पवी त्यही परिवेशमा हुर्कनुभएको हो । गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका गुल्मीका सागर ढकालको पक्षमा मत माग्दै उहाँले केही टिकटक बनाउनुभएको थियो । ‘आफूजस्तै युवालाई प्रोत्साहित गर्न भोट मागेको थिएँ । तर केही व्यक्तिहरुले समस्या पार्न खोजे । धम्क्याउने भाषामा प्रतिक्रिया दिए,’ उहाँले भन्नुभयो ।

‘सागर ढकाल पनि चुनाव लड्न आएका छन् भन्ने सुने । अनि धेरै टिकटक प्रयोगकर्ताहरुले सागरको बारेमा टिकटक बनाइदिनु भनेको आग्रहलाई स्वीकारेको थिएँ । त्यसमा मेरो आग्रह पूर्वाग्रह केही थिएन । सागरलाई मैले भेटेको पनि थिएन । केही अगुवाहरु किन सधैँ एउटै व्यक्ति वा नेतालाई भोट दिने ? यस पटक युवा नेतालाई जिताउनुपर्छ भनेपछि भिडिओ बनाएँ,’ उहाँ भन्नुहुन्छ, ‘सागरको पक्षमा भिडिओ आएपछि गाउँलेहरुले विरोध गरेका थिए । कतिसम्म गरे भने अर्कै दलमा रहेका हाम्रै आफन्तहरुले हाम्रो घरको धारामा आउने खानेपानी नआउने बनाइदिए । खानेपानी बन्द गरिदिए ।’

ढकालका पक्षमा टिकटकमार्फत् भोट माग्दा कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

चुनावी मैदानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका ढकाल पराजित हुनुभयो । २५ हजार ५३४ मत ल्याएर देउवा संसद सदस्यमा सातौँ पटक निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका ढकालले १३ हजार ४२ मत ल्याउनुभएको थियो । हारे पनि उहाँले पाएको मत परिमाण सम्मानजनक मानियो । ढकालले पाएको मतमा आफ्नो पनि भूमिका रहेको पवीको ठम्याइ छ ।

नेपाली कला क्षेत्रमा जमिरहनुभएकी मिस पवीलाई अहिले फिल्मबाट पनि अफर आउन थालेको छ । सायद छिट्टै उहाँ फिल्मको पर्दामा पनि देखिनेछिन् ।

उनलाई काठमाडौँबाट धेरै कुरा सिक्नु छ । कला क्षेत्रमा आउने उतारचढाव चिर्दै सिक्दै अगाडि बढ्नु छ । उहाँलाई आफ्नो पहिचान, भेषभूषा र संस्कृतिलाई जोगाउनु छ र प्रवर्द्धन गर्ने इच्छा छ । ‘टिकटकले चिनायो यात्रा तय गरिदियो । अब यो यात्रालाई निरन्तरता दिनेछु । टिकटर मिस पवी होइन एक कलाकार र एक अभियन्ता बनेर चिनाउनु छ,’ उहाँले भावी योजना सुनाउनुभयो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...