‘हात्तीको भाइरल भिडिओ ‘फेक’ हो, कागजी प्रक्रिया जारी छ’

5

काठमाडौँ, १३ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ ।

बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडियो ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाउनुभयो ।

नेपालले उपहार दिने भनिएका हात्ती कतार पठाउनका लागि कानुनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएको विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

‘नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेकोमा अन्तर्राष्ट्रिय कानुनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएकाले आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुनेछ,’ ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कतार पठाउने भनिएका हात्तीहरु चितवन राष्ट्रिय निकुञ्जमा रहेको र सामाजिक सञ्जालमा भाइरल भिडिओ समेत नेपालको नभएको बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...