काठमाडौँ, ९ वैशाख । नुवाकोटका युवा किसान श्रीराम घिमिरेले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राख्दै रत्नपार्कको शान्तीबाटिकामा आमरण अनशन बसेको आइतबार नौ दिन पुगेको छ ।
पाँच बुँदे माग राख्दै पाँचौँ पटक आमरण अनशन बस्नुभएका ककनी गाउँपालिका घर भएका घिमिरेको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । घिमिरेको स्वास्थ्य अवस्था डाक्टर निकोलस भुसालले बुझिरहनुभएको छ ।
कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरुको पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने घिमिरेको माग छ ।
त्यस्तै, परियोजनाका आधारमा ५० लाखसम्म एक प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, अनुदानलाई भूमि र भाडामा यातायातको सर्वशुलभता किसान कार्डको आधारमा दिनुपर्ने र पूर्व–पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित उहाँ अनशन बस्नुभएको हो ।
कृषि सुधारको माग राख्दै घिमिरेले यही वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेको भएपनि सरकारले अहिलेसम्म कुनै सुनुवाइ नगरेको दाङका युवा किसान कुबेर गिरीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘आज अनसन बसेको नौ दिन भइसक्यो । यो अनसन विशुद्ध किसानका लागि हो, कुनै व्यक्ति, संघ सस्थाको लागि होइन । युवा पलायन रोक्नका लागि सरकारले उठाएका मागहरु पूरा गर्न अति आवश्यक छ । तर सरकारले हामीलाई उपेक्षा गरेको छ । यदि हाम्रा मागहरु पूरा भएनन् भने हामी आन्दोलनको अर्को चरणमा प्रवेश गर्न बाध्य हुनेछौँ ।’
अझै पनि सरकारले आफ्ना मागहरु सम्बोधन गरेन भने देशभरिका किसानहरुलाई बोलाएर सडक आन्दोलन चर्काउने र त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने गिरीको भनाइ छ ।