सरकार ऋणमा रहेपनि किसानलाई ऋण नलागोस् : मन्त्री साह

38

काठमाडौँ, १ वैशाख । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले युवा र महिलाका लागि स्वदेशमै रोजगारीको सिर्जना गरेर विदेश पलायन हुने थितिको अन्त्य गर्न सरकार लागि परेको बताउनुभएको छ ।

शनिबार देशभक्त युवा नेपालद्धारा आयोजित आत्मनिर्भर युवाहरुलाई सम्मान तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री साहले आम युवाहरु आत्मनिर्भर बन्न सक्यो भने मुलुक समृद्धिमा लम्किने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागिपरेकी छु । विषेशगरि तिमुरको अचार बनाएर दर्जनौं देशमा निर्यात गरिरहेका महिलाहरुका लागि हामि सहयोग गर्न तत्पर छौं । जति धेरै युवाहरुले आ–आफ्नो क्षेत्रमा काम गर्न सक्यो त्यति नै मुलुक आत्मनिर्भर हुँदै जानेछ ।’

नेपालमा दुई लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्नुहुँदै साहले त्यसको आधा भागमा चैते धान खेती गर्नेगरी मन्त्रालय लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल बाँझो जमिन दुई लाख हेक्टर छ । यो खाली जमिनमध्ये मैले एक लाख हेक्टर जमिनमा चैते धान खेति गर्यौ भने धानमा पनि आत्मनिर्भर बन्न सक्छौं । यसका लागि मन्त्रालय योजना बनाइरहेको छ ।’

दुग्ध किसानको बाँकी बक्यौता तिर्न मन्त्रालयले ३० करोड ऋण लिएर प्रक्रियामा गएको उल्लेख गर्नुहुँदै उहाँले सरकार ऋणमा डुबेपनि किसानलाई पिर पर्न दिन नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ऋण खोजेरै दुग्ध किसानको दुधको बक्यौक्ता भुक्तानीका लागि पहल गरेको छु । प्राविधिक प्रत्रियामा छ छिट्टै किसानका हातमा जानेछ । ऋण निकालेरै भएपनि किसानहरुलाई मर्का पर्न दिन्न । बरु सरकार ऋणमा डुबोस तर किसानलाई ऋण लाग्नु हुदैन । युवा र महिला अगाडि बढ्यो भने देश अत्याधिक सुन्दर र समृद्धितर्फ जानेछ ।’

Share This:
सम्बन्धित खबर
Loading...