प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : श्रममन्त्री अर्याल

42

काठमाडौँ, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रुपमा परिणाम आउन नसकेको बताउनुभयो । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाममुखी बनाउन यसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो । ‘भनिन्छ डक्टरको व्यवहारले विरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, उर्जा मिलोस,’उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफनो जिम्मेवारी पूरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...