गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

12

चितवन, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ ।

आइतबार बेलुका बागमती प्रदेश खेलकुद परिषद्‌द्वारा आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताउनुभयो ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’ प्रधानमन्त्री भन्नुभयो, ‘निर्माणकार्य द्रूततापूर्वक अगाडि बढ्नेछ । यसका निम्ति आगामी वर्षको बजेटमा पर्याप्त स्रोत सुनिश्चित गरिने व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु ।’

क्रिकेट रंगशाला निर्माणपछि कृषि, पर्यटन, स्वास्थ्यका साथै चितवन र आसपासको क्षेत्र ‘स्पोर्ट्स हब’ का रूपमा विकास हुने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रंगशालामा ठुला राष्ट्रियस्तरका प्रतियोगिताहरू सम्पन्न गर्ने उपर्युक्त वातावरण मिल्ने बताउनुभयो ।

चितवनमा आयोजना भएको प्रतियोगिताले यहाँका पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा सोमबारदेखि सुरु हुँदै छ । प्रतियोगिता वैशाख १ गतेसम्म चल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...