- नेमिष गौतम
काठमाडौँ, २६ चैत । अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे । तर, करियर अभिनयलाई नै बनाए । उनले न त सिकाई, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै । कुनै समय स्कुल पढाए । अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मार्फत यही शुक्रबार अर्थात् चैत ३० देखि दर्शकमाझ आउँदैछ ।
दयाहाङकै भनाइमा कलेज र डिग्रीको महत्व पनि थाहा नभएर उहाँले डिग्री पूरा गर्नुभएन । ‘सुरुमा संगीत र पत्रकारिता पढियो । तर, कलेज के हो अथवा डिग्री के हो भन्ने तिर ध्यान गएन । सायद मलाई त्यसको महत्व थाहा नभएर पनि होला । मलाई साहित्य, कलाले नै बढी आकर्षण गर्यो । अनि त्यतैतिर मोडिएँ’, दयाहाङ भन्नुहुन्छ ।
दयाहाङ २०५८ सालसम्म राजनीतिमा नै सक्रिय हुनुहुन्थ्यो । तर, त्यो सक्रियता धेरै समय टिकेन । कारण थियो, साहित्य र कलाप्रतिको झुकाव । ‘खासमा साहित्य र कलाप्रतिको आकर्षणलाई सहयोग पुर्याउनकै लागि मैले पत्रकारिता पढे जस्तो मात्र गरेको हुँ,’ दयाहाङ हाँस्दै भन्नुहुन्छ ।
स्वयंसेवी शिक्षक दयाहाङ
दयाहाङले अभिनयमा आउनुअघि जन्मथलो भोजपुरकै गाउँमा एक वर्षसम्म शिक्षण गर्नुभएको रहेछ । उहाँले कक्षा ५ भन्दा तलका कक्षाका भाइबहिनीहरुलाई स्वयंसेवी शिक्षकका रुपमा पढाउनुभएको थियो ।
‘पढाउनका लागि आफ्नो क्षमता हुनु पर्दोरहेछ । मैले एक वर्ष विद्यालयमा पढाए पनि मेरो अनुभवमा पढाउनु साह्रै गाह्रो विषय हो । पहिला त आफूले पढाउने विषयबारे जानकार हुनुपर्दो रहेछ । अनि जानेको कुरालाई सहज रुपले विद्यार्थीलाई बुझाउनु पर्दोरहेछ । त्यो भन्दाअघि विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक रहेछ,’ दयाहाङ सम्झनुहुन्छ ।
डिग्री माइलाको जन्म
२०६९ र २०७१ सालमा मण्डला थिएटरमा दुईपटक नाटक ‘डिग्री माइला’को मञ्चन भएको थियो । यो नाटक त्यो समयको ‘हिट’ नाटकका रुपमा चिनिन्छ । यो नाटकको जन्म आफैँमा रोचक छ ।
‘यो फिल्म नाटकमा बनेको होइन । फिल्म ‘अनागरिक’ बनिसकेपछि राजन मुकारुङ, उपेन्द्र सुब्बा, रामबाबु गुरुङ र मबीच हाम्रो समय, हामीले भोगेको कुरा, व्यक्तिगत कुरा र चरित्रको कुराका विषयमा बहस र विश्लेषण गर्दै जाँदा ‘डिग्री माइला’ पात्र जन्मिएको हो । त्यही बेला फिल्मको आइडिया पनि बनायौँ,’ दयाहाङ सम्झनुहुन्छ, ‘त्यसबेला मैले यो पात्रलाई छुट्टै टिपेर नाटक बनाउँछु भन्ने सोचेर नाटक बनाएको थिएँ । ‘डिग्री माइला’ जस्तो पात्र सायद गाउँमा पनि देख्यौँ, संगत पनि गर्यौँ होला । तर, नाटक र फिल्मको पात्रको मनोविज्ञान भने केही फरक छ ।’
डिग्री माइला नामाकरण
फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङ ओखलढुंगाका हुनुहुन्छ । उहाँका अनुसार गाउँमा चन्द्रप्रकाश गुरुङ नामका एक व्यक्ति थिए, जो दिवंगत भइसकेका छन् । उनी असाध्यै मदिरा प्रेमी थिए ।
‘उहाँको अंग्रेजी साह्रै राम्रो थियो । उहाँकै क्यारेक्टरबाट म प्रभावित भएँ । उहाँ फिल्म, कला, साहित्य र राजनीतिका विषयमा प्रखर वक्ता हुनुहुन्थ्यो । तर, आफू चाहिँ सधैँ बाटोमा जाँड खाएर सुत्नेसम्म गर्नुहुन्थ्यो,’ रामबाबु भन्नुहुन्छ, ‘मैले यो कुरा दयाहाङलाई सुुनाइरहँदा उसको गाउँमा पनि यस्तै पात्र रहेछन् । अन्य साथीहरुसँग कुरा गर्दा उनीहरुले पनि गाउँको यस्तै अन्य पात्रको कुरा गर्थे ।’
दयाहाङ पनि रामबाबुको कुरामा सहमत हुनुहुन्छ । दयाहाङले आफ्नो गाउँमा देखेका दाइहरु, जो विद्यालय पढाउँथे, उनीहरु पनि मदिराप्रेमी थिए । ‘मदिराप्रेमी भए पनि दाइहरुमा समयसमयिक राजनीति, संगीत, साहित्य, फिल्मको विषयमा अथाह ज्ञान थियो । उनीहरुले हामीलाई यी कुरा सुनाउँदै त्यो हाम्रो लागि ज्ञान नभई केवल मनोरञ्जन मात्र हुन्थ्यो । त्यही चिजलाई हामीले पात्रका रुपमा निर्माण गरेको हौँ । हामीले भागिरहेको समयसँग त्यो पात्र गाँसिएर आओस् भन्ने हो,’ दयाहाङ भन्नुहुन्छ ।
दयाहाङको बुझाईमा ‘माइला’ मेटाफोर मात्र हो । ‘माइला भनेपछि जेठा कान्छा अथवा अन्य दाजुभाइ खोई भन्ने प्रश्न पनि आउला । तर, मण्डलामा सोमनाथ खनालले ‘माइला डटकम’ नामक नाटक निर्देशन गरे । त्यसपछि मेरै निर्देशन ‘डिग्री माइला’ मञ्चन भयो । यहीकारण माइला जोडिएको हो’, उहाँ भन्नुहुन्छ ।
पुस्तान्तर डिग्री माइला
दयाहाङ नाटक ‘डिग्री माइला’लाई पुस्तान्तरको संज्ञा दिनुहुन्छ । अहिलेको समय अक्सर भाइपुस्तासँग ‘इञ्जोय’ गर्छन् भन्ने बुझाई दयाहाङको छ । किनकी वास्तविकता त्यही छ ।
‘अग्रजहरुसँग चाहिँ हामी अलिक भाग्ने कोशिस नै गर्छौँ । हामीमा एक किसिमको अहमता हो कि अथवा के हो, त्यो चिजको रियलाइजेसन थियो, मलाई डिग्री माइला गर्नुको पछाडिको कारण यही हो,’ दयाहाङ खुल्छन् ।
नाटकमा पनि डिग्री माइला आएर भाइपुस्तासँगै गफ गर्छ । ‘जुन समयमा डिग्री माइला नाटक तयार भयो त्यो समय र त्योभन्दा अघिल्लो समय हामी अग्रजहरुसँग एकदमै नजिक भएर काम गर्थ्यौँ । अग्रजसँग काम गर्दे जाँदा उहाँहरुसँग अन्तरक्रिया गर्नै डर लाग्थ्यो । हाम्रो बानी ज्ञान र क्षमताको हिसाबले अग्रजसँग ‘स्किप’ गर्ने र भाइपुस्तासँग रमाइलो गर्ने नै थियो’, दयाहाङ थप्नुहुन्छ, ‘त्यो चिजलाई हामीले नाटकमा भनेका थियौँ । त्यही कारण पनि नाटक हेर्न युवा दर्शक बढी आउनुभयो । यो नाटक न त कुनै विद्यालय, कलेज अथवा विश्वविद्यालयको पाठ्यक्रममा नै थियो । त्यहीकारण दर्शक पो नआउने हुन् कि भन्ने थियो । तर परिणाम ठिक उल्टो भइदियो ।’
फिल्ममा घमण्डी दयाहाङ
फिल्ममा दयाहाङ अंग्रेजीमा डिग्री हाँसिल गरेको पात्रका रुपमा देखिनुभएको छ । फिल्मको ट्रेलरमा उहाँ कतिसम्म घमण्डी छन् भन्ने उहाँका संवाद र दृश्यबाट थाहा हुन्छ । ‘पढेलेखेका मान्छे के कारणले घमण्डी हुन्छन्, उसको असन्तुष्टि के हो र उसले आफूलाई त्यो ठाउँसम्म किन पुर्यायो भन्ने कुरा फिल्म हेरेपछि दर्शकले महसुस गर्न सक्छन्’, उहाँ भन्नुहुन्छ ।
अंग्रेजी किस्सा
दयाहाङले अंग्रेजी कलेजको कोर्स बुकमै पढ्नुभयो । उहाँ कलेजको अगाडिको सिटमा बस्ने भएकाले पनि उहाँका आँखा प्राध्यापकको अनुहारमा परिरहन्थ्यो । ‘सर हाँस्दा पनि अंग्रेजीमै हाँसे जस्तो लाग्थ्यो । किनभने उहाँले कहिल्यै पनि मलाई प्रश्न सोध्नुभएन । उहाँलाई जहाँ–जहाँबाट हुन्छ, जता–जताबाट हुन्छ आँखामा हेरिरहन्थे । खासमा त्यो मेरो कलाकार बन्ने लक्षण रहेछ । उहाँलाई हेरेरै हैरान बनाउँथे,’ दयाहाङ हाँस्छन्, ‘त्यसरी मैले कक्षा टारेर आएको हो । खासमा डिग्री हासिल नगर्नुको पछाडि पनि त्यही कारण होला । मलाई अंग्रेजी अहिले पनि निकै गाह्रो लाग्छ ।’
कठिन अंग्रेजी
दयाहाङले फिल्म ‘डिग्री माइला’मा बोल्ने केही अंग्रेजी संवाद उहाँकै भाषामा पढेर र रटेरै सम्झेका रहेका छन् । विनोद पौडेल निर्देशित अमेरिकामा छायांकन भएको फिल्म ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड ह्याप्पिएस्ट म्यान’मा दयाहाङको पनि अभिनय छ ।
‘विनोदले भूठानमा अभिनयका लागि बोलाउँदा मैले अंग्रेजी छ भने आउँदिनँ भनेको थिएँ । उसले छैन भनेर बोलाएरै छोड्यो । मलाई अंग्रेजी निकै कठिन लाग्छ । किनकी मेरो अंग्रेजी राम्रो छैन,’ दयाहाङ अंग्रेजी पीडा खुलाउनुहुन्छ ।
विनोद चौधरीको चासो
फिल्मको ट्रेलर रिलिज भएपछि ट्रेलरमा रहेको एक क्लिपलाई उद्योगपति विनोद चौधरीले सेयर गर्नुभएको थियो । त्यो क्लिपको संवाद विनोद चौधरीको समूह अर्थात् चौधरी समूहसँग सम्बन्धित थियो । क्लिपमा दयाहाङ र अभिनेता माओत्से गुरुङको संवाद छ । संवादमा दयाहाङले माओत्सेलाई ‘सिजी ग्रुप सुन्या छौँ ? चाउचाउ बनाउँछ नि १ यसले मलाई मासिक चार लाखको अफर गर्या थियो’ भन्छन् । त्यसपछि माओत्सेले ‘तैँले किन खाइनस् त ?’ भनी सोध्छन् । प्रतिउत्तरमा दयाहाङ ‘चौधरी आफैँ धनी छ, धनीमाथि धनी के बनौँ ? भनी जवाफ फर्काउँछन् ।
यो क्लिपलाई सेयर गर्दै ठट्टाभावमा चौधरीले ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट १’ भनी लेख्नुभएको थियो ।
दयाहाङ त्यो संवादलाई सेयर गर्दै रमाइलो कुरा लेख्नु आफ्ना लागि अचम्मको कुरा मान्नुहुन्छ । ‘नेपालका एक व्यावसायिक सफल व्यक्तिले त्यसरी क्लिप सेयर गर्नु अचम्मको कुरा हो । उहाँले चासो राख्नुभएपछि त्यो हाम्रा लागि खुसीको कुरा पनि हो’, दयाहाङ भन्नुहुन्छ ‘हामी फिल्म बजार अलिकति सानो छ भनेर भनिरहेका छौँ । तर यसो हेर्दा ती व्यक्तिहरुलाई पनि फिल्मबारे चासो हुँदो रहेछ ।’
फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’मा दयाहाङसँगै आँचल शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । –नेपाल न्युज बैंक