काठमाडौँ, २५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घन्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत् यो घोषणा गर्नुभएको हो ।
सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घन्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत् प्राप्त गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समयमा सबै डकुमेन्टहरु मिलाएर राख्नुभएको खण्डमा हाम्रो अहिलेको अध्ययनले २ मिनेट ४४ सेकेण्डमै उहाँले श्रम स्वीकृति पाउनेगरी हामीले काम गर्यौँ । तर कहिलेकाहीँ कम्प्युटर सिस्टममा ढिलाइ हुने भएकाले त्यसलाई पनि मध्यनजर गरेर हामीले एक घन्टा भनेका छौँ । कुनै पनि श्रमिकले आफ्नो डकुमेन्टहरु मिलाएर अनलाइनमा राखेको खण्डमा आफ्नो श्रम स्वीकृति आफ्नै मोबाइलफोनमार्फत् प्राप्त गर्न सक्नुहुन्छ ।’
विगतमा विदेश जानुपर्ने बाध्यतात्मक अवस्थाका श्रमिकलाई श्रमस्विकृति मिलाइदिने प्रलोभनमा ठगीका घटनाहरु भएका छन् । यस्तो घटना हुन नदिन आफैँले प्रक्रिया पूरा गर्दा छिटो श्रम स्वीकृति पाइने सिस्टम सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सारा नेपालीहरु जनता, जो दुःखमा आफ्नो परिवार पाल्न र बालबच्चा पढाउन अनि आमाबुवाको उपचारको लागि विदेश जानुपरेको छ । यो बाध्यतात्मक अवस्थामा, विदेश जान्छु भनेर काठमाडौँ आउने गरिब नागरिकलाई केही मान्छेहरुले उहाँहरुलाई अझ गरिब बनाउनेजस्ता, मिटरब्याजजस्ता विभिन्न स्रोतबाट पैसा जम्मा गरेर, ती मान्छे जसले चाहिँ श्रम स्वीकृति मिलाइदिन्छु भनेर, जुन पीडामाथि पीडा थप्ने काम भइरहेको थियो, इतिहास भइरहेको छ, त्यसलाई अन्त्य गर्नको लागि यो टिमले जुन काम गर्नुभयो, सबै श्रेय उहाँहरुलाई जान्छ ।’
आफूले गरेको अध्ययनले फेनिस सफ्टवेयरको समस्याका कारण विगतमा १५ दिनजतिमा मात्रै श्रम स्वीकृति पाइने गरेको तथ्य पत्ता लगाएको पनि उहाँले बताउनुभयो ।