उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

64

काठमाडौँ, २५ चैत । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र गुजरात क्लब आमनेसामने हुने भएका छन् । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे गुजरातको साई मेघपन क्रिकेट मैदानमा हुने छ ।

जारी प्रतियोगीतामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।

तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।

अर्को सातादेखि ओमानमा एसिसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदै छ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउने छ । नेपालले ओमानमा हुने एसिसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जाने छ ।

Share This:
सम्बन्धित खबर
Loading...