दिल्ली क्यापिटल्सको पहिलो जित

11

काठमाडौँ, १९ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकिन पुग्यो ।

चेन्नाईका लागि अजिंके रहाणेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्धतले नटआउट ३७ रन बनाए । ड्यारिल मिचेलले ३४, रविन्द्र जडेजाले अविजित २१ तथा शिभम् दुवेले १८ रनको योगदान गरे ।

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुवात पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । त्यस्तै, चेन्नईले भने यस सिजनका दुवै खेल जितेर शानदार शुरुवात गरेको थियो ।

आइपिएलअन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुने छन् । मुम्बई पहिलो जितको खोजिमा हुने छ भने राजस्थान लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...