कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो : पूर्वसचिव नेपाल

10

काठमाडौँ, १९ चैत । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गर्नुभएको छ । उहाँले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गर्नुभयो ।

पूर्वसचिव नेपालले भन्नुभयो, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ । त्यो कुनै दलको हुनुहुँदैन । तर, हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उनीहरु आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उहाँले भन्नुभयो, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुँदैन ।’

उहाँले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । ‘नागरिकहरु समस्या पर्दा काठमाडौँ किन धाइरहेका छन्, सिहंदरबार भित्रै किन पस्न चाहन्छन् ? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रुप फेरिन्छ,’ उहाँले भन्नुभयो, ‘गाउँ गाउँमा सिंहदरबार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरु सिंहदरबारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन गर्‍यौँ भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन । अधिकार सिंहदरबारभित्रै छ ।’ उहाँले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गर्नुभयो ।

पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने र नतिजा नआउने अवस्था रहेको बताउनुभयो । ‘कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिँड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिँदैन,’ उहाँले भन्नुभयो, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ । कर्मचारीले पनि त्यही गरेर विकृतिलाई प्रोत्साहन गरिदिएका छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...