सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक : मन्त्री अधिकारी

19

काठमाडौँ, १६ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानको लागि नेपाल सरकार प्रतिबद्धताका साथ लागि रहेको बताउनुभएको छ ।

शुक्रबार सहकारीमा दोस्रो तहका नियामक निकायको आवश्यकता र औचित्यबारे छलफलमा उहाँले सहकारीलाई नियन्त्रण गर्न शक्तिशाली नियामक निकाय आवश्यक भएको भन्दै त्यसको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी सम्बन्धी ऐन ल्याउनुपर्छ, भन्ने विषयमा छलफल चलिरहेको छ । त्यसको कार्ययोजना अब सुरुवता गर्छौँ । सहकारीलाई नियन्त्रण गर्न, कारबाही गर्न, शक्तिशाली नियामक निकाय बनाउनु पर्छ भन्ने मान्यतामा हामी छौँ । यो समस्यालाई समाधान गरेर पीडितलाई न्याय दिलाउने र सहकारीप्रति भएको भ्रमलाई हटाउन छिटै काम गर्नुपर्ने छ । त्यसको लागि नेपाल सरकार प्रतिबद्धताका साथ लागिपर्छ ।’

उहाँले सहकारीम्बन्धी कानुन कार्यान्वयन भएपनि समस्या समाधान नभएको भन्दै यसको लागि अनुशासनसहितको सुशासन आवश्यक भएको बताउनुभयो ।

सरकारको तीन खम्बे अर्थनीति अन्तर्गतको सहकारी मुख्य नीति भएको भन्दै केही सहकारीको गल्तीको कारण सहकारी नै बन्द गर्ने कुरा सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको तीन खम्बे अर्थनीति अन्तर्गतको मुख्य नीति भनेकै सहकारी हो र यही उद्देश्यमा सहकारी स्थापना भएको थियो । यसमा केही सहकारीको गलत कदमको कारण सहकारी नै बन्द गर्ने भन्ने हुँदैन । तर, सरकारले लिएको नीति अनुसार अगाडि बढ्ने सन्दर्भमा सहकारीको लामो समयसम्म सम्भावना हरेको छ । त्यसकारण केही सहकारीले गल्ती गर्यो भनेर यसप्रति वितृष्णा जगाउने भन्ने हुँदैन ।’

नेपालको अहिलेको वर्तमान अवस्था, भूगोल, चेतना र आवश्यकताको आधारमा टेकेर सहकारीसम्बन्धी कार्य योजनाको थालनी गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...