नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छानियो

16

काठमाडौँ, १६ चैत । निर्देशक नवीन सुब्बाले निर्देशन गर्नुभएको फिल्म ‘गाउँ आएको बाटो’ चीनको १२औँ ‘बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पर्नेगरी छानिएको छ ।

यो ‘गाउँ आएको बाटो’ केही समयअघि ‘टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’ बाट विश्व प्रिमियर गरिएको थियो ।

फिल्म स्वीडेनमा भएको ४७औँ ‘गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२४’ पनि छनोट भएको थियो । फिल्मको ‘वुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा र मुम्बईको मामीमा साउथ एसियन प्रिमियर भइसकेको छ ।

फिल्मले राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाएको छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको फिल्ममा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामूहिक लगानी छ ।

छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी जेठ १८ गते नेपालमा रिलिज हुँदै छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ ।

नेपालमा बाँसुरी फिल्म्सले रिलिजको संयोजन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...