जलस्रोत व्यवस्थापनका लागि सरकारको प्रतिकार्य रणनीति, कार्यान्वयनमा गम्भीर हुनुपर्ने उर्जामन्त्रीको जोड

14

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ ।

बस्नेतले शुक्रबार काठमाडौँमा ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहमा जलवायु परिवर्तनको असर पानीमा धेरै परेकाले त्यसलजाई कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको प्रभाव गुणात्मक ढङ्गले बढ्र्दै गइरहेको छ । जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव पानीमा नै पर्ने देखिन्छ । हामी हिमालहरु पग्लीरहेको कुरा गरिहेका छौँ, यो सबैको मुख्य प्रभाव पानीमा नै देखएिको छ । हाम्रा पानीको व्यवस्थापनको प्रश्न निकै महत्वपूर्ण र चुनौतीपूर्ण पनि बन्दै गइरहेको छ । यसको संरक्षण,उपयोग गर्नुपर्ने छ ।’

सरकारले जलवायु उत्थानशील, समावेशी जलस्रोत र वास सेवाको विकासलाई प्रवर्द्धन, जलवायु सङ्कटासन्नता र जोखिमको सम्बोधन, जलस्रोतलाई वातावरणमैत्री र जलवायु उत्थानशील बनाउन हेतु विभिन्न २९ वटा कार्यक्रमहरु समेटेर २२ वटा रणनीतिहरु सहित आज जलस्रोत व्यवस्थापनका लागि प्रतिकार्य रणनीति सार्वजनिक गरेको छ । उक्त प्रतिकार्य रणनीति मन्त्री बस्नेतले सार्वजनिक गनुभयो ।

नेपालमा जलस्रोत व्यवस्थापन र वास सेवामा संलग्न सरकारी निकाय, अन्तर–सरकारी संस्था, स्थानीय सरकार, गैरसरकारी एवम् जल उपयोगकर्ताहरुको संघ तथा प्राज्ञिक गरी करिब ४० वटा संस्थाका ११ सय बढी प्रतिनिधिहरुको सहभागितामा ३ वटा कार्यसमूह बनाइ डेढ वर्षको अन्तरालमा उक्त रणनीति तर्जुमा गरिएको हो ।

नेपालमा जलस्रोत व्यवस्थापनलाई समावेशी र जलवायु उत्थानशील बनाउन नसक्नुमा जलसरोकारवालाहरुले नीतिको अपर्याप्त कार्यान्वयन, संस्थागत समन्वयमा न्यूनता, तथा जल तथ्याङ्कको अभाव र क्षमता अभिवृद्धिको आवश्यकतालाई मुख्य अवरोधको रुपमा औँल्याएका छन् । ती अवरोधको कारण पहिचान गरी प्राथमिकीकरण गरेर जलवायु उत्थानशील र समावेशी जलस्रोत, जलवायु सङ्कटासन्नता र जोखिमको सम्बोधन, जलस्रोतलाई वातावरणमैत्री र जलवायु उत्थानशील बनाउने मुख्य उद्देश्य लिई त्यसको कार्यान्वयनका लागि सरकारले प्रतिकार्य रणनीति तयार गरेको जल तथा उर्जा आयोगको सचिवालयले जनाएको छ ।

जसका लागि २९ वटा विभिन्न कार्यक्रमहरु समेटेर २२ वटा रणनीतिहरु बनाइएको छ । उक्त रणनीतिमा मुख्य गरी जलवायु उत्थानशील एकीकृत जलस्रोत व्यवस्थापन र वास सेवाका लागि सरोकारवालाहरुसँग संवाद प्रवर्द्धन गर्ने, संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धता र दायित्वसंग तादात्म्यता हुने गरी सुसंगत नीति तर्जुमाका लागि बहुसरोकारवालाहरुसंगको परामर्श प्रक्रियाको प्रवर्द्धन गर्ने कुरा रणनीतिमा उल्लेख छ ।

यस्तै, जलस्रोतको विकास र व्यवस्थापनका लागि समन्वय संयन्त्र सहित तीन तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै लग्ने, जलवायु उत्थानशील र जलस्रोतको दिगो उपयोग तथा वास सेवाको लागि एकीकृत जलस्रोत व्यवस्थापन र बेसिन अवधारणालाई आधारभूत योजनाका रुपमा अवलम्बन गर्ने बताइएको छ । साथै, नदीमा आधारित कार्यालय तथा जलवायु परिवर्तनसम्बन्धी संस्थाको स्थापना गर्ने, जल तथा जलवायु परिवर्तनसम्बन्धी वार्तामा जलका निकाय र विज्ञको संलग्नता सुनिश्चित गर्न जोड दिइने, तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा उपयोगसम्बन्धी नीति तर्जुमा गर्ने, जलस्रोत बारेमा केन्द्रीय तथ्याङ्क व्यवस्थापन निकाय तोक्ने एवम् तथ्याङ्क प्रयोगकर्ता तथा सम्बन्धित सरोकारवालाहरुलाई उपलब्ध तथ्याङ्कबारे सूचित गर्ने संयन्त्रको विकास गर्ने लगायका कुरा समेत रणनीतिमा समेटिएका छन् ।

सरकारले बनाएको रणनीतिको प्रभावकारी कार्यान्वयन भए जलस्रोत व्यवस्थापन र वास सेवा समावेशी, लैंगिक उत्तरदायी तथा जलवायु–उत्थानशील हुने, जलस्रोतको अधिकतम र बहु उपयोगको थप प्रवर्द्धन हुने र पानीको लेखा, वितरण र परीक्षण संस्थागत हुने,जलवायु सङ्कटासन्नता र जोखिम घट्ने र जल संरचना जलवायु अनुकूलित र उत्थानशील हुने अपेक्षा सरकारको छ ।

साथै रणनीतिले एकीकृत जलस्रोतको दिगो व्यवस्थापन र बहुउपयोगमार्फत् देशको आर्थिक तथा पर्यावरणीय समृद्धि सुनिश्चित हुने लक्ष्य राखिएको छ । सो प्रतिकार्य रणनीति कार्यान्यनका लागि ७ अर्ब आर्थिक खर्च लाग्ने अनुमान सरकारको छ ।

कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले जलस्रोत व्यवस्थापनका लागि प्रतिकार्य रणनीतिको प्रभावकारी कार्यान्वयमा जोड दिनुभयो । बस्नेतले जलवायु परिवर्तनको प्रभाव विश्वभर गुणात्मक ढंगले बढ्दै गइरहेको बताउनुभयो । यस्तै, उहाँले नीति रणनीतिहरु धेरै बन्ने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन पक्ष सधैँ फितलो हुने गरेको स्थितिलाई मध्यनजर गर्दै सरकारी, गैरसरकारी तथा विकास साझेदार सरोकारवालाई रणनीति कार्यान्वयन पक्ष प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभयो ।

जलस्रोत व्यवस्थापनका लागि प्रतिकार्य रणनीतिको महत्व धेरै रहेको बताएका मन्त्री बस्नेतले थप्नुभयो, ‘पानीको महत्व जुन गुणात्मकताका साथ वृद्धि हुँदै गैराखेको छ । यसको व्यवस्थापनमा हामी थप गम्भीर हुनैपर्ने छ । यसको लागि समस्याहरुको पहिचान गर्ने कुरा पनि निकै महत्वपूर्ण छ, त्यसका लागि यस्तो अध्ययन अनुसन्धान उपयोगी हुन्छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...