सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहहरूलाई प्राधिकरणको ताकेता

36

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिइ सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ ।

बिनामिटर सडक बत्ती बालिरहेकाहरूलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।

सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिना मिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरूको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरेवापत करिब ६ अर्बभन्दा बढी बक्यौता छ ।

Share This:
सम्बन्धित खबर
Loading...