आज दिनभर : बेपत्ता जहाज, प्रधानमन्त्रीको उथलपुथल, प्रहरीको बहादुरी र एसइई

59

काठमाडौँ, १५ चैत । चैतको १५ गते, आज दिनभरी भएका गतिविधिहरुको शीर्ष पक्ष यहाँ प्रस्तुत गरिएको छ । औपचारिक रुपमा आयोजना गरिएका र आकस्मिक घटनाका खबर नै दिनभरि घडीको सुइसँगै चक्कर मारिरहेका हुन्छन् ।

आज बिहानै उडिरहेको जहाज गन्तव्यमा नपुगेको र सम्पर्कमा पनि नरहेको अपुष्ट समाचारले हल्लीखल्ली नै मच्चायो । पुष्टि गर्नेतिर मेहनत नगरी कतिपय सञ्चारमाध्यमले ‘जहाज बेपत्ता’ पार्न समेत संकोच मानेनन् । धनगढीबाट काठमाडौँका लागि उडेको ‘श्री एयरको जहाज आकाशमै बेपत्ता’ भनेर सञ्चारमाध्यमहरुले चर्का शीर्षक बजारमा बेच्दैगर्दा जहाजका यात्रीहरु भने लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर पानी पिउँदै थिए । मौसम अनुकूल नभएकाले केहीबेर जहाजले उपत्यकाको आकाशमा फन्को लाएर त्यता मोडिएको जानकारी दिइएको छ ।

यो समाचार प्रकाशमा आएपछि जजसलाई तनाव र मार परेको थियो ती सबै यतिबेला स्वजनसँग आफ्ना गुम्फन पोखेर शान्त भइसकेका छन् । अपुष्ट समाचारले कोकोहोलो मच्चायो तर सत्य अर्कै निस्कियो । यो आज बुधबारको चर्चित समाचार थियो ।

नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिस्पर्धा गर्न बिदाईका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे । उनीहरु गन्तव्यमा पुगिसकेका छन् । प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन । नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा आदत परिसकेका खेलाडी नयाँ मन्त्रीको अभिव्यक्तिबाट हतोत्साहित हुने कुरै थिएन, भएनन् पनि ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले भने गठबन्धन मित्रहरुलाई झसँग पार्ने किसिमको अभिव्यक्ति दिनुभएको छ । ‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’ भनेर उहाँले आफूलाई कुनै किसिमको अवरोध नलगाओ है भनेर सत्ता सहयात्रीहरुलाई चेतावनी पनि दिनुभएको छ ।

थप स्पष्ट पार्दै प्रधानमन्त्रीले अझै अगाडि बढ्न सकिन्छ भन्ने विश्वासले नै आफू प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताउनुभयो । उहाँको यो भनाइले विश्लेषक, चिन्तक र विवेचकहरुलाई मन्थनको मसला पस्किदिएको छ । ‘उथलपुथलवादी’ कार्यशैलीका सूत्रधार प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण भरोसा छैन भन्ने कुराको छनक पनि दिन थालेको बुझ्न सकिन्छ । विपक्षी दलका नेता शेरबहादुर देउवासँग सरकारी निवासमा भेटवार्ता गरिसकेर दिउँसो यस्तो अभिव्यक्ति दिनुमा प्रधानमन्त्री भविष्यका लागि कुनै संकेत दिन चाहिरहनुभएको छ भनेर बुझ्न कुनै आइतबार चाहिँदैन ।

आजैदेखि सुरु भएको माध्यमिक तहको अन्तिम परीक्षा एसइईमा सरिक भएका ५ लाख ४ हजार ४१४ विद्यार्थी भने प्रधानमन्त्री दाहालले नेतृत्व गरिरहेको चञ्चल राजनीति र अवतरण गरिसकेको जहाज बेपत्ता बनाउने सञ्चारमाध्यसँग धेरै टाढा छन् । उनीहरुको एकमात्र एजेन्डा छ पहिला एसइईमा उच्च अंक ल्याउने अनि भविष्यमा उड्ने गन्तव्यका बारेमा परामर्श थाल्ने ।

प्रहरीको बहादुरी
नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको दाबी गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट यति रकम जुटाएको भनेर प्रहरीले घोषणा गरेको छ ।

‘जहाज हराएको, एसइई सुरु भएको र प्रधानमन्त्रीले राजनीतिक तरंग उठाएकै’ दिन नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर बहादुरीसाथ एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दियो ।

भारतीय पर्यटक नेपाल घुम्न आउँदा नगद बोक्न तोकिएको सीमा बढाउन माग गर्नुभयो संसद्को परराष्ट्र समितिका सभापति राजकिशोर यादवले । व्यवहारत यो उचितै चासो भए पनि उहाँले बिर्सनै नहुने मानवीय विषयबारे त्यति महत्व दिनुभएको देखिएन । इजरायल प्यालेस्टाइन युद्दमा बेपत्ता भएका विपिन जोशीको हालखबर र रुस पुगेका नेपाली युवाको जीवनमरणको खबरबारे समितिले अपेक्षित चासो र पहल गरेको पाइएन ।

आज दिनभरिका गतिविधिहरुमा यो कम महत्वको शीर्षक थिएन ।

Share This:
सम्बन्धित खबर
Loading...