काठमाडौँ उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण
काठमाडौँ, १५ चैत । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।
बिहान ७ बजेर १२ मिनेटमा धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो ।
२ घन्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौँमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको श्री एयरका धनगढी इञ्चार्ज गजेन्द्र शाहीले जानकारी दिनुभयो । जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि ९ः३४ बजे भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताउनुभयो ।
काठमाडौँमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताउनुभयो ।
अढाई घन्ठासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु अतालिएका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौँको आकाशमा डेढ घन्टाभन्दा बढी फन्को लगाएको थियो ।
यात्रुहरुका अनुसार विमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट विमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो ।