काठमाडौँ, १३ चैत । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
पाँचथर तथा ताप्लेजुङको सिमाना भइ बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत् शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसनलाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाँडावाट हिलिहाङ गाउँपालिका १ मा रहेको नेपाल विद्युत् प्राधिकरणको अमरपुर सबस्टेसनमा जडान गरिएको छ ।
२०७८ साल श्रावण २३ गतेदेखि कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको थियो । आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संस्थापक तथा सर्वसाधारणको सेयर लगानीबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत नबिल बैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ ।
आयोजना याँङवारक गाँउपालिका २ मा बाँधस्थल र वडा नम्बर ३ मा पावरहाउस रहेको छ ।