बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन्- न्यायालयले नै छिनोफानो गर्छ

23

काठमाडौँ, १० चैत । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सिआइबीले बयान लिइसकेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ ।

सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात् चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनुभएका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत् उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गर्नुभएको छ । निर्वाणले युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन भन्ने प्रश्न पनि गर्नुभएको छ ।

‘आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौँ,’ निर्वाणले फेसबुकमा लेख्नुभएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहनुभएका निर्वाणले देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिनुभएको छ ।

निर्वाणको भनाइ जस्ताको त्यस्तै
१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठुलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना । १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौँ पुस्ता पुगेको छ । नेपालको कुल राजश्वमा करिब २ प्रतिशत योगदान, देशको सबैभन्दा ठुलो रोजगारदाता, नेपाल बाहिर पनि तीव्र व्यापार विस्तार गरेर नेपाली चन्द्र९सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौँ । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौँ । देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ । भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिँदै आएका छौँ । हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसँग हार्वर्ड बिजिनेस स्कुल, बिल र मेलिन्डा गेट्स फाउन्डेसन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।

आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैँलाई प्रश्न सोध्नेबेला भएको छ। के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् रु आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौँ ।

यो देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ ।
केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्नँ । न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भैरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमीक्षा गरौँ ।

Share This:
सम्बन्धित खबर
Loading...