लैंगिक समानताका चुनौतीहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराएँ : मन्त्री चौधरी

11

काठमाडौँ, १० चैत । अमेरिकाको न्युयोर्कमा ६८औँ युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी स्वदेश फर्किनुभएको छ । शुक्रबार साँझ कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्किनुभएको मन्त्री चौधरीका स्वकीय सचिव शंकर चौधरीले जानकारी दिनुभयो ।

मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टलगायतले स्वागत गर्नुभएको थियो ।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानतालगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्नुहुँदै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताउनुभयो । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकिर गर्नुभयो ।

‘भ्रमण फलदायी भएको छ । लैंगिक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरु, वर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतीहरुबारे विश्वमाझ जानकारी दिन सके । सम्मेलनमा तीन वर्षदेखि मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ,’ उहाँले भन्नुभयो ।

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतीका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताउनुभयो ।

मन्त्री चौधरीले विश्व सम्मेलनमा बोल्दै मन्त्री चौधरीले महिला र युवतीहरुका सवालले नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको वर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतीका बारेमा विश्वको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले महिला समानता र महिला सशक्तीकरणलाई सरकारले प्राथमिकतामा राखेको धारणा राख्दै १६औँ पञ्चवर्षीय आवधिक योजनामा लैंगिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न राज्य प्रतिबद्ध भएको बताउनुभएको थियो ।

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराउनुभएको थियो । नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको उहाँको धारणा छ ।

Share This:
सम्बन्धित खबर
Loading...