विपिनको ‘हिरो’ अनुभव : ‘अरुले पत्याएनन्, षट्कोणले पत्यायो’

28

काठमाडौँ, ८ चैत । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल हुनुहुन्छ भन्ने कुरा उहाँले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उहाँको अभिनयमा विविधता पाइन्छ ।

‘छड्के’को बिन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामाई चरित्र विपिनको अभिनयमा विविधता ल्याउने प्रमुख फिल्मी पात्र हुन् । यीबाहेक उहाँले अभिनय गरेका अन्य फिल्ममा पनि विपिनले आफूलाई फरक रुपमा उभ्याइसक्नुभएको छ ।

यिनै विपिनलाई लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्म ‘जात्रा’मा इमान्दार र संघर्षशील फडिन्द्रको रुपमा अभिनय गराएर चरित्रमा स्थापित गराउनुभयो । ‘जात्रा’ पछि ‘जात्रैजात्रा’ र अहिले ‘महाजात्रा’ सम्म आइपुग्दा विपिनले आफूलाई ‘हिरो’का रुपमा दर्शकमाझ उभ्याइसक्नुभएको छ ।

‘म आफू हिरो हुन्छु भन्दा कसैले पत्याएनन् । धेरैले हाँसेर उडाए, खिसी गरे । तर, निर्देशक प्रदीप भट्टराई र षट्कोण आर्ट्सले हिरो बनायो’, विपिन भन्नुहुन्छ ।

विपिन गम्भीरदेखि कमेडीसम्मको चरित्रमा सुहाउँदो पात्र हुन् । उहाँ कतिसम्म कमेडीमा रमाउन सक्छन् भन्ने कुरा फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’मा आफूलाई प्रमाणित गरिसक्नुभएको छ । शुक्रबारबाट रिलिज हुने ‘महाजात्रा’ले आफ्नो कमेडी यात्रामा नयाँ इँटा थप्नेमा विपिन ढुक्क हुनुहुन्छ ।

‘जात्रा श्रृंखलाकै यो रमाइलो फिल्म बनेको छ । महाजात्राले हसाउने, रुवाउने र नयाँ कुरा पनि सिकाउनेछ’, उहाँ भन्नुहुन्छ ।

लेखक तथा निर्देशक भट्टराई विपिनलाई प्रायः फिल्ममा एकै किसिमको व्यक्तित्वको भूमिकामा देखिरहँदा उहाँले इमान्दार व्यक्तित्वको भूमिकालाई कसरी निर्वाह गर्न सक्छन् भनेर उहाँलाई जात्रा श्रृंखलामा जोडेको बताउनुहुन्छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...