सहकारी पीडितका अगुवा केसीको अवस्था नाजुक

127

काठमाडौँ, ८ चैत । आमरण अनसनमा रहनुभएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उहाँले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरेलगत्तै तीनकुनेमा आमरण अनसन रहेका उहाँको स्वासथ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरुले बताएका छन् ।

‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनकारीले भन्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सहकारी बचतकर्ताहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी वचतकर्ताहरुको उठाएका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले बिहीबार वार्ताका लागि आन्दोलनरत पक्षलाई सिंहदरबारमा बोलाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...