बाँसबारी छाला जुत्ता प्रकरण : सिआइबीले लियो उद्योगपति चौधरीको बयान

42

काठमाडौँ, ८ चैत । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ ।

२०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।

त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।

सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको बयान लिइएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । सिआइबीले सरकारी वकिलको कार्यालय काठमाडौँका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो ।

बुधबार साँझ मात्रै सिआइबीले चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए । कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...