काठमाडौँ, ५ चैत । मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गर्नुभएकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुभएको हो ।
सोमबार मात्रै जनकपुरधाम आइपुग्नुभएकी प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानुनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गर्नुभयो ।
यसअघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा पर्नुभएको थियो । उहाँको बर्खास्तीसँगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो ।