काठमाडौँ, ५ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित आकाशे पानीसम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्नुहुँदै उहाँले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतीका रुपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
मन्त्री बस्नेतले वर्षाको पानी भण्डारण गरेर पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्न सहज हुने बताउनुभयो ।
‘मन्त्रालयमार्फत मैले नवीन प्रविधि, सहयोगी साझेदारी र प्रभावकारी नीतिहरूको सकारात्मक भूमिकालाई मान्यता दिएको छु । हाम्रो प्राथमिकता भनेको वर्षाको पानी संकलन गर्ने, पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्ने हो,’ उहाँले भन्नुभयो ।