आगलागीमा परी २७ घर जलेर नष्ट

34

विराटनगर, ५ चैत । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार अपरान्ह भएको आगलागीमा परी २७ वटा घर जलेका छन् ।

बर्जु गाउँपालिका वडा नम्बर ४ मा पर्ने जयनगर मुस्लिम टोलमा आगोले स्थानीय बासिन्दाका घर जलेका हुन् । स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ ।

अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन् ।

आगालागीमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको छ । केही चौपायाहरु पनि मरेको प्रहरीले जनाएको छ । आगो निभाउने प्रयासमा केही गाउँले घाइते भएका छन् ।

पीडित परिवारलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको स्थानीय जनप्रतिनिधिले बताउनुभयो । उनीहरुका लागि आपतकालीन राहत दिने तयारी पनि भइरहेको जनाइएको छ ।

इनरुवा, इटहरी, विराटनगरलगायत पालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

दुई दिनयता कोशी प्रदेशका मोरङ, भोजपुर, तेह्रथुम, सुनसरीलगायत जिल्लामा भएको आगलागीमा परी करिब पाँच दर्जन घर जलेका छन् ।

शनिबार साँझ भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...