इलाम २ उपनिर्वाचन : मिलन लिम्बूद्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा

49

काठमाडौँ, ४ चैत । आगामी वैशाख १५ गते हुन लागेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताउनुभयो ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले इलामका नागरिकको सेवक बनेर जीवनभर काम गर्ने बाचा गर्नुहुँदै उहाँले नेताहरुले गरेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम २ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने बाचा गर्दछु ।’

उहाँले राजनीतिक दलका उम्मेदवारले मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको भन्दै यसलाई रोक्नका लागि सबैको साथ र सहयोगका लागि अपिल गर्नुभएको छ ।

संविधान र संघीयता लागु भएपनि अझै राजनीतिक कार्यभार बाँकी रहेको भन्दै उक्त कार्यभार पूरा गर्नका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संविधान र संघीयता लागु भएपनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नुछ । सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुछ ।’

Share This:
सम्बन्धित खबर
Loading...