काठमाडौँ, २ चैत । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यकरूपमा आफ्नो नाम जोडेको भन्दै मिडियाविरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारबाहीका लागि सिफारिस गरिएको भनी समाचार प्रकाशमा आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्नुहुँदै खनालले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै आपत्ति जनाउनुभएको हो ।
आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गनुभएका खनालले मिडियाहरुमा आएको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गर्नुभयो ।
सुन तस्करी प्रकरणमा आफूसँग नाम जोडिएका जीवन चलाउनेलाई आफूले नचिन्ने उहाँको भनाइ थियो । ‘न मैले चलाउने भन्नेलाई चिनेको छु, म सक्याउनेलाई नै चिनेको छु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस् । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देश र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ,’ खनालले भन्नुभयो ।
एमाले प्रवेश गरेर गत संसदीय निर्वाचनमा प्रतिस्पर्धासमेत गर्नुभएका खनालले अधिकांश समय मिडियाको आलोचना गर्नमा खर्च गर्नुभएको थियो । नामै काढेर उहाँले भन्नुभयो, ‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडेँ । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि । मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरेँ । म आइजी हुँदापनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधीर शर्मालाई सोधेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डन गर्न सल्लाह दिनुभएको थियो । तर, मैले खण्डनभन्दा पनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस् भनेको थिएँ ।’
उहाँले आफू छोरीहरुको अध्ययनका लागि अमेरिका पुग्दा पनि भाग्यो भनेर समाचार आएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘म अमेरिका गएँ, छोरीहरु एउटा डाक्टर, अर्को कानुन पढाउनको लागि गएको थिएँ । टिकट अलिक महँगो भएर बसाइ लम्बिएको बेला सर्वेन्द्र त भाग्यो अरे भनेर समाचार आयो । यहीँ डाका, तस्कर, फटाहा, चोर अपराधीलाई ठाउँको ठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ? मैले त्यतिबेला टिकट प्रि–पोण्ड गरेर काठमाडौँ आएँ ।’
आफूले एमालेका नेताहरु कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गर्नुभयो । यदि आफूले कसैलाई भनेको भए प्रमाणित गर्न पनि उहाँले चुनौति दिनुभयो ।
आफूले यो प्रकरणमा सिआइबीदेखि कसैसँग पनि केही नभनेको खनालको दाबी छ । उहाँले अहिले सुन तस्करी प्रकरणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।