कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

48

विराटनगर, २७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा शनिबार मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार नढल्ने बताउनुभएको हो ।

‘पटुवाको सन्ठीले नरिवल घोचे जस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार नढल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सन्ठीले घोच्दा नरिवल झर्दैन ।’

विद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै पढाइमा अब्बल रहेका विद्यार्थीलाई प्रदेश सरकारले पैसा तिरेर पढाउने उल्लेख गर्नुभयो ।

आर्थिक अवस्थाका कारण अध्ययनबाट बञ्चित बालबालिकालाई प्रदेश सरकारले नै पढाउने वातावरण सिर्जना गर्ने योजना पनि अघि बढाइएको उहाँको भनाइ छ ।

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गर्नुभएको थियो । उक्त मदरसा भवन निर्माणका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

४ कठ्ठा १८ धुर जग्गामा निर्माण हुन लागेको भवन कोशी प्रदेश सरकार, झापाका अन्य स्थानीय तह, बिर्तामोड नगर र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...