किशोरी हत्या प्रकरण : अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन

37

विराटनगर, २२ फागुन । मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञाहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मामा घरमा बस्दै आएकी किशोरीको हिजो राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङको ऐसेँलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता नायब उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा प्रहरीले घरका मानिसहरु, छिमेकी अनि शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ ।

यस क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...