प्युठानमा कोरोनाविरुद्ध फाइजर खोप अभियान

33

स्वर्गद्वारी, २३ माघ । प्युठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ ।

उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए । उनले भने, “जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख ७ हजार ९३०, दोस्रो मात्रा लगाएका एक लाख ९५ हजार १८७, पहिलो बुस्टर लगाएका एक लाख ६ हजार ४४३ तथा थप बुस्टर लगाएका ३० हजार ४२० जना छन् ।

स्वास्थ्य कार्यालयले यस अभियानमा नागरिकस्तरमा अग्रभागमा खटिने शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको छ । अभियानभर खोप केन्द्र, तोकिएका विद्यालय, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाबाट खोप दिइने गरी तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन कौशलराज वैद्यले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...